किन यस्तो हुन्छ मलाई, बुझ्न सक्दिन

तिमीलाई म के भनुँ, भन्न सक्दिन
नराम्रो खबर तिम्रो बारेमा, सुन्न सक्दिन
किन यस्तो हुन्छ मलाई, बुझ्न सक्दिन

मन जल्छ सम्झनाको पिरलोले, निभाउन केही हुँदैन
तिमी बिना अरु कसैको बोलीले, यो मन छुँदै छुँदैन
कोल्टे फेरेर रात बिताउनु छ यहाँ, सपनाको छेउ हुँदैन
दुखेको मनको सपना, रात बित्छ निंद्राले छुँदै छुँदैन

एक्लो भएर यस्तो लाग्छ होला, मनको कुराको भर हुँदैन
साथ कसैको भएकै भए पनि , सम्झनाले मन छुँदैन
एक्लो हुनुमा पनि बेग्लै आनन्द, एक्लै नभए संभव हुँदैन
जिन्दगीमा सधैँ अँध्यारो देखिन्छ, टाढाको उज्यालोले छुँदैन

-समय
रचनाकाल:२०६६/१२/१६
©Copyright protected by Samaya समय, 2010.

Advertisements

सोझो मान्छेको लागि त संसारै होइन रहेछ

म त सोझो मान्छे, कसैले बाङ्गो बनाउने प्रयास गरे
बाङ्गिन मैले नसकेपछि ती मान्छे आफैँ पछाडि सरे
सोझो मान्छेको लागि त संसारै होइन रहेछ

कति देखेँ मैले पनि बजारका अनगिन्ति हाउभाउहरू
अर्काको काँध चढि आफु शिखर छुने हजारौँका दाउहरू
बाटोमा यात्रा गर्दा पनि देखि सहन्नन् कसैले आजकल
ढोङ्ग रच्ने सजिलो रङ्गमञ्चका पात्र रहेछन् सबै नाउँहरू

खुशी र उमङ्गको अनुभव गर्न पाउनु त सपनाको कुरा भयो
आफ्नो गाँसमा पसिना मिसिँदा कसैको सौखिन सोच पुरा भयो
जति नै मेरो चर्चा गरियो त्यति नै गरिन्छ अरुको आजकल
फगत एक युग बित्यो, सोझो मान्छेको लागि त्यो युग शून्य भयो

-समय
रचनाकाल:२०६६/१२/१२

©Copyright protected by Samaya समय, 2010.

एकाएक आँखा खुल्दा साथमा तिमी भेटेँ

किन होला तिम्रो त आजकल बोली पनि मीठो
यति मीठो बोली हुने साथी कहाँ देखेँ
खुशी हुँदा बेग्लै कुरा रीसाउँदा रीसै पनि मीठो
सायद मेरो भाग्य राम्रो तिम्रै साथ भेटेँ

एक्लै एक्लै डुल्दा डुल्दै तिमीलाई भेटेँ
भेटेपछि आफ्नै लाग्यो सपनीमा देखेँ
रम्न खोजेँ आफैँ त्यो सपना भित्र
एकाएक आँखा खुल्दा साथमा तिमी भेटेँ

तिम्रा हरेक कदममा आफु संगै देखेँ
तिम्रो साथ नछुटोस् भनी एउटा गीत लेखेँ
तिम्रो मनको भावना मेरो संग गाँसेँ
एकाएक आँखा खुल्दा साथमा तिमी भेटेँ

-समय
रचनाकाल:२०६६/१२/११

©Copyright protected by Samaya समय, 2010.

के जादु गरेकी छौ तिमीले म माथि

किन होला तिम्रो माया धेरै धेरै लाग्छ
तिमीलाई भेटेपछि मनमा खुशी जाग्छ
के जादु गरेकी छौ तिमीले म माथि

एक्लै बस्न मन लाग्थ्यो पहिले पहिले
हरपल तिमी खोज्छ यो मनले अहिले
जब हुन्छ्यौ तिमी साथ मन चङ्गा हुन्छ
तिम्रो खुशी नहुँदामा यो मन एक्लै हुन्छ

बाटोभरि तिमी तिमी जताततै तिमी
अँगालोमै बेरिरहूँ मनमै बस तिमी
अब नजाऊ तिमी टाढा एक्लै बस्नु हुन्न
त्यो मन एक्लै बनाएर यो मन खुशी हुन्न

-समय
रचनाकाल:२०६६/१२/१०

©Copyright protected by Samaya समय, 2010.

चल्छ यहाँ भित्र भित्रै छुरा

चाहेका सबै कुरा कहाँ हुन्छन् यहाँ पुरा
जब चल्छन् बिना कारण भित्र भित्रै छुरा

एउटाले सपना देख्दा अर्को जब आह्रीस गर्छ
सपना टुट्छ र चल्छ यहाँ भित्र भित्रै छुरा

हट्छन् मेरा बाधा सबै भनेर देउतै भाके पनि
छोड्दैन यहाँ चल्न त्यसै भित्र भित्रै छुरा

भलो चिताउने जमाना त अर्कै संसार पुगिसक्यो
अब हुन्न केही यहाँ चल्छ केवल भित्र भित्रै छुरा

देख्नु र सुन्नुमा फरक त हुन्छ नै भ्रम होइन केही
तर कसैको केही लाग्दैन चल्छ यहाँ भित्र भित्रै छुरा

-समय
रचनाकाल:२०६६/१२/१०

©Copyright protected by Samaya समय, 2010.

मायाको भीख माग्दै एक दिन पनि कसैको पछि परिएन

आजकल केही आउँदैन मनमा तिमीलाई सम्झेर होला
कुनै दिन हुन्नथ्यौ तिमी सम्झनामा मैले भूलेर होला

खै के भनौँ यो सम्बन्धलाई आज मैले भन्न जानिनँ
कतै आफैँ हराउने बहानामा मैले तिम्रो मन त तानिनँ

यस्तै रहेछ संसार अनि संसारभित्रका मान्छेहरू पनि
कोही आउँछन् हल्ला फैलाउँदै अनि जान्छन् केही नभनी

धेरै आए जिन्दगीमा कसैलाई आफ्नो भन्ने चेष्टा गरिएन
मायाको भीख माग्दै एक दिन पनि कसैको पछि परिएन

-समय
रचनाकाल:२०६६/१२/०५

©Copyright protected by Samaya समय, 2010.

मोबाइल फोन (लघुकथा) -समय (२०६६/११/१९, बुधबार)

आज एक्कासी एउटा कल आयो मेरो मोबाइलमा। मैले फोन उठाएँ। अचम्म लाग्यो! कुरा गर्दागर्दै टावर उड्यो। के देख्नुपरेको, के भोग्नुपरेको! शायद, आज पनि लोडशेडिङ्गको लोड धेरै भएरै होला। करीब आधा घन्टापछि मैले फेरि कल ब्याक गरेँ त्यही नम्बरमा जुन नम्बरबाट मलाई कल आएको थियो। उता फोन रिसीभ भयो, तर अपरिचित आवाज! हैन के सुन्नुपरेको! हुन पनि हुनसम्मै अचम्म हुन थालेको छ आजकल।

अब कल होइन एस एम एस आयो। तपाईँलाई आज मैले जसरी भए पनि भेट्नै पर्ने काम छ। तपाईँको टाइम कस्तो छ? अब मैले त्यो एस एम एस को रिप्लाइ पठाउनु जरूरी ठानिनँ। म आफ्नै काममा लागेँ। कतै नभएको अचम्मको मान्छे!, एकछिनपछि अर्को एस एम एस आउँछ। होइन, आज के विधि अचम्म भएको यो! म त आफैँ सोच्न थालेँ यहाँ बेरोजगारहरूको सङ्ख्या कति होला! रोजगार भए त बेकारमा अरुलाई नचाहिँदो कल गरेर, एस एम एस पठाएर आफ्नो समय बर्बाद गर्ने चाहना कस्को हुन्छ होला र!

आफू समयमा काम नसकिएर दिक्क भएको छु। यहाँ कुनै काम समयमा हुन्न। झन् यो मोबाइल बोकेपछि त अर्को काम थपियो भन्या! फोन कल उठाउने, एस एम एस रिसीभ गर्ने, के के हो के के, भनेर साध्य छैन। फेरि CRBT पनि के के राख्न सकेका हुन्! सुनेरै बस्नुपर्ने पुरै Ring नबजिकन कल उठ्यो भने त भाग्यमानी कलर मान्नुपर्छ आफूलाई। नबोकी पनि नहुने, बोके पनि नहुने, काठ्मान्डुको खाल्डोमा मोबाइल फोन!

-समाप्त-

©Copyright protected by Samaya समय, 2010.