अर्कै अर्कै भएछ संसार पनि

अर्कै अर्कै भएछ संसार पनि
अर्कै अर्कैकी भइछौ तिमी पनि

फेरि आउने छैन तिम्रो जीवनमा
यो सोच राखी राख आफ्नो मनमा
हुने छैन हाम्रो मिलन पनि
एक्लै बिताउनेछु यो सिंगो जीवन पनि

यहाँ यस्तै हुन्छ अब सधैंभरि
बस्ती बाक्लिए पनि माया पातलिएपछि
नसोध मलाई कस्तो छ मेरो हाललाई
बरु सोध मलाई पन्छाउने आफ्नै मायाको छाललाई

कथा त्यसै नबन्ने रहेछ यहाँ
एउटाको खुशीमा अर्को रुनुपर्छ जहाँ
बिर्सिएको कथा फेरि सम्झिनुपर्दा
दु:ख लाग्छ आँखाबाट आँसु झर्दा

-समय
रचनाकाल: २०६३/११/०७
©Copyright protected by Samaya समय, 2011.

किन होला

कता कता डुलिराख्छ मन यो किन होला
कुनै यादमा भुलिराख्छ मन यो किन होला

सम्झिंदा कसैलाई के हुन्छ मनलाई
भन्नै सकिन्न के हुन्छ
ढलिदिन्छ साँझपख बेहोशीमै ढले जस्तै
उठ्न खोज्छ आफैं फेरि चेतनामा उठे जस्तै

फर्केर आफुमा आउन नि मान्दैन
भन्नै सकिन्न के हुन्छ
उज्यालोमा भेट्न खोज्छु, लाग्छ अब केही भन्छु
जसै उनी सामु आउँदा मनका कुरा सबै भुल्छु


-समय
रचनाकाल: २०६८/०२/०८ 
©Copyright protected by Samaya समय, 2011.

बन्ने छौ कि तिमी मेरो जीवनको साथी

त्यो नजरमा यो नजर मिलाउन खोज्दा,
त्यो अधरमा यो अधर मिलाउन खोज्दा;
गल्ती खासै हुन्न जस्तो लाग्छ मलाई
त्यो रहरमा यो रहर मिलाउन खोज्दा !!!

राखिदिन्छु तिम्रै खुशी सबैभन्दा माथि,
मनले नि रोजेको छ तिमी एउटै साथी;
अल्झिन आएन बाचा कसम तमासामा
बन्ने छौ कि तिमी मेरो जीवनको साथी !!!

सोझै सोधें तिमीलाई मनै पो दुख्यो कि,
भन्न खोज्दा मनमा कुरा मनैमा लुक्यो कि;
जानिन मैले त खै के कसो गर्नुपर्थ्यो
भन्दाभन्दै आफ्ना कुरा सत्यता चुक्यो कि !!!

-समय
रचनाकाल: २०६८/०२/०३

©Copyright protected by Samaya समय, 2011.

किन होला

किन होला धेरै पछि खुशीहरु बढ्यो मनमा
पुरा हुन्छन् सम्झेका ती रहरहरु एकैछिनमा

धेरै कुरें कसैलाई मनभित्रै सम्झी सम्झी
देख्नेछु म उनैलाई आफुसँगै एकैछिनमा

धेरै लामो प्रतीक्षा, उनकै लागि गरेको छु
यो मुटुको कुनामा, उनकै नाम भरेको छु

कसैको मायामा यसरी डुबिन्छ
कसैको यादमा यसरी लुटिन्छ
किन होला

- समय
रचनाकाल: २०६८/०१/२७
©Copyright protected by Samaya समय, 2011.