यहाँ मृत्युभन्दा मलामीदेखि डर लाग्न थालेको छ (कविता)

खै के हुन्छ आजकल
सबै होश कतै भाग्न थालेको छ

सपनीमै बर्बराउँदै मन
आधा रातमा जाग्न थालेको छ

सत्य पर भएर होला
मनले सत्यलाई त्याग्न थालेको छ

समय कस्तो हुन थाल्यो
यहाँ मृत्युभन्दा मलामीदेखि डर लाग्न थालेको छ

-समय
रचनाकाल:२०६८/०२/१३
©Copyright protected by Samaya समय, 2011.
Plot Credit Goes To: Rubina Shrestha

फिरफिरे र चंगाको सम्बन्ध (कविता)

तिमीलाई याद छ,
जब हामी खुल्ला चौरमा हुन्थ्यौं,
तब हामी माथिको आकाश पनि खुल्ला हुन्थ्यो,
हावा पनि खुल्ला हुन्थ्यो र कति स्वच्छ हुन्थ्यो ।

मेरो चंगा आकाश छेड्छु झैं गरेर धेरै माथि पुग्दा
तिमीले भनेकी हुन्थ्यौ, मैले चंगा देख्न सकिन भनेर,
तिम्रो फिरफिरे त्यतिबेला पनि मज्जाले घुमिरहेको हुन्थ्यो ।

आजकल त्यो चंगा उडाउन मिल्ने खुल्ला आकाश देख्न सकिन्न
फिरफिरे बनाउनको लागि त ‘क्याक्टस’ को काँडै भेटिन्न ।

जतिबेला तिम्रो फिरफिरे घुम्दा घुम्दै बन्द हुन्थ्यो,
तब तिमीले भनेकी हुन्थ्यौ, चंगा पनि धेरै माथि नउडाउनु भनेर ।
हावा नचलेको समयमा चंगा हराउन सक्थ्यो ।

म फेरि तिम्रो फिरफिरे हेर्थें र भन्थें,
तिम्रो फिरफिरे त घुम्न नसकेको तल भएर हो,
हावा पनि धेरै गह्रुंगो हुन्छ नि त माथि भन्दा तल ।

तिम्रो हातको चोरी औंला ‘क्याक्टस’ को काँडाले
घोचेर घाउ हुँदा मैले बनाईदिएको त्यो फिरफिरे
अझै पनि तिम्रै घरमा देखिन्छ होला ।
धेरै माथि पुगेर कसैले काटेर ‘चेट’ बनाइएको
मेरो त्यो चंगा हराएको आज वर्षौं भयो ।

हामी एकापसको दु:खमा सहयोगी पनि र सहभागी पनि हामी नै हुन्थ्यौं ।

तिम्रो आँसु पुछ्दा लागेको मेरो बुढी औंलाको दाग
र मेरो आँसु पुछ्दा लागेको तिम्रो चोरी औंलाको दाग,
अझै पनि सम्झना छ,
हामी कति जोडले रोएका थियौं,
कागजले बनेका हलुका चंगा हराउँदा र फिरफिरे च्यातिंदा ।

अहिले कतै चंगा र फिरफिरेको तस्वीर देख्दा म झस्किने गर्छु ती दुईको पुराना दिन सम्झेर ।

-समय
रचनाकाल:२०६८/०२/३०
©Copyright protected by Samaya समय, 2011.
Plot Credit Goes To: Rubina Shrestha