कठपुतली बन्नु भन्दा (गजल)

पुतली नै बन्न पाए हुन्थ्यो कठपुतली बन्नु भन्दा ।
अलि बेग्लै बन्न पाए हुन्थ्यो अरु जस्तै बन्नु भन्दा ।।

थरि-थरिका विचार पाल्छन् यहाँ पाल्न सक्ने दिमागहरु ।
आफैंलाई भन्न पाए हुन्थ्यो अर्कोलाई केही भन्नु भन्दा ।।

जताततै स्वार्थ बोक्छन्, गर्छन् पनि स्वार्थकै चर्चा सबै ।
आफ्नै काम गन्न पाए हुन्थ्यो अरुको काम गन्नु भन्दा ।।

माया मोह सबै उस्तै हुन्छन् गहिराईकै मापन गर्ने गर्छन् ।
बरु मनै खन्न पाए हुन्थ्यो कालखाल्डो खन्नु भन्दा ।।

-समय
रचनाकाल: २०६८/०८/०१
©Copyright protected by Samaya समय, 2011.

Advertisements

कतैबाट माया आउने बाटो रोकें जस्तो लाग्छ (गजल)

किन किन आज धेरै भारी बोकें जस्तो लाग्छ ।
कतैबाट माया आउने बाटो रोकें जस्तो लाग्छ ।।
 
सस्ता विचार ल्याउनेहरु किन हुन्छन् नजिक त्यसै ।
राम्रा विचार ल्याउनेलाई गोली ठोकें जस्तो लाग्छ ।।
 
मातिएर लड्न पुग्दा बाटै मेरो ओछ्यान बन्यो ।
चाहिन्न त्यो भने पनि धेरै धोकें जस्तो लाग्छ ।।
 
भित्ताको नि कान हुन्छ सत्य बोल्नु हुन्न भन्छन् ।
व्यवहारिक शिक्षा पनि धेरै घोकें जस्तो लाग्छ ।।
 
-समय
रचनाकाल: २०६८/०७/२२
©Copyright protected by Samaya समय, 2011.