आजकल कविता फुर्दैन खै किन हो !

 

खाल्डोको तापक्रम
दिन प्रतिदिन घट्दै छ,
एउटा सिंगो दिनमा
घामको किरण देख्न नपाउँदा
भोलिपल्ट देखिएको
एकै निमेषको घामको किरण पनि
कति लोभ लाग्दो देखिएको थियो !

बाटोमा जताततै
अचाक्ली बढेको जाडोकै चर्चा
र त्यो चर्चामा रुमल्लिएका आवाजहरु
अनाहकमा कानमा ठोक्किंदा,
लाग्थ्यो यो खाल्डो
अब अझै कति दिन सेलाउने हो !

पारिलो घाम ताप्दै,
सुन्तलाका बोक्रा ताछ्दै,
केस्रा झिकेर ‘क्वाप्प’ मुखमा हाल्दा
लाग्थ्यो आज फेरि कतापट्टिको घर ढल्ने भो !

बढ्दो जाडोसँगै
न्यानो बासको जोहो गर्न नपाउँदै
भईराखेको बास पनि बाटो छेउमा पर्नाले
पल भरमै ‘स्वाहा’ भएकाहरु देखि लिएर
झमक्क साँझ पर्न नपाउँदै
सडकका किनारमा फ्याँकिएका कार्टुन बटुलेर
आगो ताप्नेहरु सम्म एकसाथ बाँचेका छन्,
यही खाल्डोमा !

सडकको सिमाना बढ्ने भयो अब
शहरमा अचाक्ली परिवर्तन देखिन पाईने भयो !

भट्टीमा छिरेर ‘तोङ्बा’को न्यानो पानी
मुखले ‘सुरुप्प’ तान्दै
साँझका केही पल सुस्ताउने देखि लिएर
‘लेबलाईज्ड’ विदेशी रक्सीमा मात्नेहरुसम्म
इन्धनको अभाव, लोडशेडिङ्गको प्रभाव
र बेटुङ्ग्गो जागीरको तनावमा
एकसाथ होमिएका छन् !

आय भन्दा व्यय बढी भएपछि
हालत सबैको उस्तै छ यहाँ,
आर्थिक तह फरक होला,
कसैको ज्यादा कसैको कम !

आफ्नो स्थिति अनुसारको काम रोज्दा,
खर्चै गरे नि पाईन्न जब चाहेको कुरा खोज्दा,
दिक्क भएका मनहरु धेरै छन् यहाँ,
थाकेका दिमागको त कुरै नगरौं होला !

सुरक्षाको ‘ढ्याङ्ग्रो’ बजाउनेहरु
हातमा चुरा लगाएझै हुन्छन् जब,
हराएका कुरा फिर्ता पाईने
आशाको हत्या गर्न बाध्य छन् सबै !

समाधानको भन्दा समस्याको तौल
भारी भएपछि
कसैको मनमा आशा पलाउने
‘साईत’ जुर्दैन खै किन हो,
आजकल कविता फुर्दैन खै किन हो !!!

-समय
रचनाकाल : २०६८/०९/२० (बुधबार)
©Copyright protected by Samaya समय, 2012.

Advertisements