पर्दो रै’छ (गजल)

जिन्दगीका केही पलमा झुक्नु पर्दो रै’छ
खहरे झैं बेमौसममा सुक्नु पर्दो रै’छ

बाटैभरि मोड आउँछन्, घुम्दै बग्छ बाटो
नचाहँदा-नचाहँदै रुक्नु पर्दो रै’छ

आउने-जाने धेरै हुन्छन्, बटुवाका ताँती
आफ्ना मान्छे आउने आशमा ढुक्नु पर्दो रै’छ

सबै जातको मूल्य हुन्छ संसारमा सधैं
मान्छे पनि कुकुर झैं भुक्नु पर्दो रै’छ

सुनिदिने मान्छे खोज्दै भौंतारिंदा जताततै
भेटिंदैनन् जब कोही, दुख्नु पर्दो रै’छ

-समय
रचनाकाल : २०६९ साल पुस ५ गते ।
©Copyright protected by Samaya समय, 2013.

Advertisements

पानी-बाराबार (कविता)

एकाबिहानै तिमीलाई चौबाटोमा भेटें,
त्यो पनि निकै पछि ।
शायद तिमी हतारमा थियौ,
म तिमीभन्दा अलि फुर्सदिलो ।

केहीबेर पछि, तिमी त घर पुग्यौ होला ।
तर म पनि घरको कौसीमा थिएँ ।
हामी भेट्दा कति चिसो थियो ।
त्यसैले तिमी चिस्सिएको हुनुपर्छ ।
अनि तिम्रो हातमा झुण्डेको त्यो डेरीको दुध,
चुहिंदै चुहिंदै, घर पुग्दा आधा भएको हुनुपर्छ ।

घाम अलि चहकिलो भएपछि,
तिमी देखियौ आफ्नो घरको कौसीमा ।
अनुहार अलि स्पष्ट हुन मात्रै खोज्याथ्यो,
तिमी ओझेल भयौ,
ताजा समाचार भनेर पत्रिका पल्टाउँदै थियौ शायद ।

तिमीले बिर्सेछौ क्यारे,
आजकल यो बजारमा ताजा केही पनि पाईंदैन भनेर ।
अचार देखि समाचार सम्म ।

एकैछिन घाम ताप्यौ क्यारे तिम्ले पनि ।
म त घाम ताप्दा-ताप्दै
काम गर्न थालेर अल्मलिएछु ।
चाउरी परेर मुजै-मुजा परेको ज्यानले
गर्न सक्ने काम त के नै हो र,
मैले सिसीमा हालेको अमिलो अचार भनेपछि
हुरुक्कै हुन्छे, अमेरिका बस्ने मेरी नातिनी ।

अचम्म त यो लाग्छ मलाई:
नयाँ पुस्ता र पुराना पुस्ता मिल्दैनन् भन्थे,
तर मेरी नातिनी र म “बेस्ट-फ्रेण्ड” ।
जापानमा बस्ने तिम्रो नातीसँग
खुब च्याट गर्छे रे, “स्काईप” मा ।
निकै रमाईलो भा’को छ रे नक्कले मोरो ।
मैले दुई-हातले उचालेर बोक्दा,
मेरो मुखैमा पर्ने गरी
त्यसले “सुसु” गरेको हिजै जस्तो लाग्छ ।

तर “त्यो हिजो” र “यो आज” को बीचमा
निकै गहिरो खाडल परे जस्तो छ ।

बिस्तारै ढलेको साँझसँगै,
अचानक तिम्रो घर शुन्य भयो ।

पानी-बाराबारको झगडा त तिम्ले गरेका हौ ।
मसँग बोल्नै नहुने तिम्ले भनेका हौ ।
तर मेरो मन मान्न सकेन ।
दशकौं पछि,
तिमीसँग बोलचाल शुरु गर्ने योजना बुन्दै
आफ्नो घरको बाहिर निस्के, साँझपख ।
तर तिमी त अर्कै संसार पुगिसकेछौ ।

हो,
म “मलामी” बनेर
“आर्यघाट” पुगेर आएँ,
“तिम्रो लास” सँगै ।

मलामी गएर फर्केको भोलिपल्ट
फेरि झस्केर तिम्रो कौसीमा हेरें ।
त्यहाँ तिमी होईन,
तिम्ले लगाउने गरेको “सक्कली-ढाकाको भोटो” देखें,
डोरीमा झुण्डेको ।

फेरि सम्झें त्यो पल,
संसार छोडेर जाने दिनको बिहान पनि,
तिमी मसँग नबोल्न सकेको ।

तिमी, मभन्दा … मात्र दुई हप्ता कान्छो,
बिहे नगर्दाको “गुच्चा खेल्ने साथी”,
पच्चीस वर्षसम्म “गहिरो दोस्ती”,
अर्को पैंतीस वर्षसम्मको “बोलचाल बन्द”
त्यसपछि बोल्न जाँदा तिम्रो “स्वास बन्द”
धेरै ढिला भएछ, तिम्लाई भेट्न ।

यो कस्तो “पानी-बाराबार” !!!

-समय
रचनाकाल : २०६९ साल, माघ ११ गते, बिहीबार (बिहान १:३० बजे)।
©Copyright protected by Samaya समय, 2013.