तिमी नै हौ जिन्दगानी … (गजल)

जानु छैन कहीं पनि, आउँदै छु म तिमी भनी ।
माया मेरो तिमी नै हौ, तिमी नै हौ जिन्दगानी ।।

किन होला आजभोलि, लाग्दैन मन कतै पनि ।
घाम-पानी सबै तिमी, तिमी नै हौ जिन्दगानी ।।

छाउँछौ तिमी जताततै, बाटैभरि फूल बनी ।
दु:ख-सुख बराबरी, तिमी नै हौ जिन्दगानी ।।

पवित्र छ तिम्रो माया, छैन छल कतै पनि ।
निसङ्कोच भन्छु म त, तिमी नै हौ जिन्दगानी ।।

-समय
रचनाकाल: २०६९/१२/०५
©Copyright protected by Samaya समय, 2013.

Advertisements

झझल्को… (गीत)

सुनसान यो प्रहरमा, हराउँछ मन रहरमा
छौ कि तिमी कतै, मेरो यो शहरमा

धेरै भयो मनमा मेरो खुशीका तरङ्ग चलेको
सम्झना छ अझै तिम्रो मुहार धपक्क बलेको

रेखा हेर्छु म कतै बसी हत्केलामा कोरिएको
देख्ने गर्छु हाम्रा आँखा एकअर्कामा घोरिएको

हाम्रो माया आजभोलि लाग्छ कतै अल्झेको छ
तिता-मीठा पलहरु झझल्कोमा बल्झेको छ

-समय
रचनाकाल: २०६९/१२/०५
©Copyright protected by Samaya समय, 2013.

मलाई … (गीत)

किन दिन्छौ चोट मलाई, किन सोच्छौ झुट मलाई
गल्ती मैले के नै गरें, मात्र तिम्रो साथ खोजें
भन मलाई, भन मलाई; किन जान्छौ एक्लो बनाई
यस्तो पीडा किन मलाई

देऊ जे सजाएँ, भोग्न म तयार छु
तिमी प्राप्ती मेरो, बरु मर्न तयार छु
भन मलाई, भन मलाई; किन जान्छौ एक्लो बनाई
यस्तो पीडा किन मलाई

गाह्रो हुन्छ धेरै, छटपटीमा बाँच्न
तोडिएको नाता, छातीभित्र साँच्न
भन मलाई, भन मलाई; किन जान्छौ एक्लो बनाई
यस्तो पीडा किन मलाई

बन्यो हाम्रो माया, एकादेशको कथा
कहाँ गई पोख्नु, मैले मनको ब्यथा
भन मलाई, भन मलाई; किन जान्छौ एक्लो बनाई
यस्तो पीडा किन मलाई

-समय
रचनाकाल: २०६९/१२/०४
©Copyright protected by Samaya समय, 2013.