यात्रा र घटना … (गीत)

बादलैको घेरोमा उडुँ जस्तो लाग्दैछ
आफ्नै सेरोफेरोमा घुम्ने मन जाग्दैछ
बाटो केही देखिन्न, कुहिरोले ढाक्दैछ
नदेखे नि कसैले कतैबाट डाक्दैछ

चिसो-चिसो लाग्दैछ बिहानीको सिरेटो
अघि बढ्न सकिन्न, साँघुरो छ गोरेटो
तै पनि म सजिलै अघि बढ्न खोजेको

जोशिलो उमेरैमा एक्लै कतै भाग्दैछ
अचानक बाटैमा प्राण उसले त्याग्दैछ

बढेको यो बाटोमा लोभ लाग्छ हुइँकिन
जिन्दगीको साटोमा बेर छैन सुइँकिन
कति बेला के हुन्छ भन्न केही सकिन्न

रमाईलो यात्राले जम्काभेट गरायो
उमेरैले छेकेन, होश कतै हरायो
पत्तै नपाई सकियो, नियतीले गरायो
_______________________________________
-मनोज के.सी. “समय”
रचनाकाल: २०७०/०१/०८
©Copyright protected by Samaya समय, 2013.

पीडा … (गीत)

फर्केन तिम्रो मन
टाढियो किन झन्
नराम्रो केही गरें कि मैले
नराम्रो केही भनें कि मैले

भारी हुन्छ मन यो सम्झी तिमीलाई
अल्झीरहन्छ एक्लै कतै बसी
पर्खी बस्छन् आँसुले भरिंदै आँखा
कसरी गयौ त्यसै मलाई छाडी

बिर्सन सकिन
कुनै पल तिमीलाई
नराम्रो केही गरें कि मैले
नराम्रो केही भनें कि मैले

पीडाहरु लुकाई मुटुको माझ
कल्पीरहन्छु तिम्लाई हरेक साँझ
आँखाबाट बर्सिन्छ आँसुको भेल
क्यै गरी नहुने भो हाम्रो मेल

सक्दिन टाढिन
रुन्छु म छिन – छिन
नराम्रो केही गरें कि मैले
नराम्रो केही भनें कि मैले
_______________________________________
-मनोज के.सी. “समय”
रचनाकाल: २०७०/०१/०७
©Copyright protected by Samaya समय, 2013.

अर्ती र उमेर … (गीत)

सपना नबुन तिमी कहिल्यै
पाइन्न त्यसरी अल्झेर केही नै
भन्थे बाबाले, भन्थे आमाले

फेरिंदै गयो जीवनको मोड
लागेन कतै कसैको जोड

बोकेर विश्वास हिंड्नु जहिल्यै
बढ्नेछौ अगाडि जीवनमा जहिल्यै
भन्थे बाबाले, भन्थे आमाले

एकै सुरमा हिंडेको बेला
सम्झना आउँछ पुराना कुरा

बिस्तारै-बिस्तारै बुझ्दैछु अहिले
बिगार्नु हुँदैन जिन्दगी आफैंले
भन्थे बाबाले, भन्थे आमाले

उमेरै चढ्यो, ढल्दैछ दिन
केही नै छैन लिन र दिन
_______________________________________
-मनोज के.सी. “समय”
रचनाकाल: २०७०/०१/०७
©Copyright protected by Samaya समय, 2013.

भ्रम… (गीत)

गुनगुनाउँछु म एउटा गीत, बज्छ मनमा मीठो ध्वनि बनी
अपनाउँछु म एउटा प्रीत, बस्छ मनमा सधैं अमृत बनी

आँखैभरि सल्बलाउँछ एउटै मुहार सपना बनी
कोल्टे फेर्दा खोज्ने गर्छु छौ कि यतै-कतै भनी

दोहोरिन्छन् कथाहरु एकपछि अर्को गरी
ब्युँझिन्छु म झस्किएर देखिंदैन केही पनि

-मनोज के.सी. “समय”
रचनाकाल: २०६९/१२/१९
©Copyright protected by Samaya समय, 2013.

घुमौं न काठमाण्डौं शहर… (गीत)

जति खेल्यो उति खेलौं लाग्ने रै’छ तास
यो ज्यानलाई अब तिम्रै लागीरा’छ आश
हातैमा चिडीको लहर, घुमौं न काठमाण्डौं शहर

कान्छीसगैं हाँस्दै-खेल्दै अघि बढ्ने सोच
माया कति गाढा हुन्छ मेरो एउटै खोज
कान्छीको रुमाल फरर, घुमौं न काठमाण्डौं शहर

धेरै पछि भेट हुँदा नचिने झैं गर्यौ
माया भनी बोलाउँदा नि पर-पर सर्यौ
लाग्दैछ माया नि चौबर, घुमौं न काठमाण्डौं शहर

हुन्न रै’छ टाढा बसी माया-प्रिती लाउनु
व्यर्थै जस्तो लाग्छ कान्छी तिम्लाई भेट्न आउनु
मनैमा पालेको रहर, घुमौं न काठमाण्डौं शहर

हुन्छ भन्देऊ कान्छी सोझै केको आनाकानी
अझै पनि उस्तै रै’छ कान्छी तिम्रो बानी
वैंशैको हुन्न है क्यै भर, घुमौं न काठमाण्डौं शहर

-समय
रचनाकाल: २०६९/१२/१०
©Copyright protected by Samaya समय, 2013.

तिमीलाई… (गीत)

यो माया, यो साथ, यो छायाँ, यो हात,
यो मन, यो मुटु, मात्र तिमीलाई

खुशी बोकेर आउँछु म सधैं; पीडा भुलेर आउँछु म सधैं
बुझ्नै सक्दिन के भएर हो; सोच्नै सक्दिन के भएर हो
भुलेर गयौ कि कतै; अर्कैको भयौ कि कतै
सोच्दैछु म पनि के-के; भयो कि मलाई नै केही
लाग्छ माया तिम्रै नै; किन किन धेरै नै

सुनेर हेर आफ्नो मुटुलाई; धड्किन्छ कि त्यो सम्झेर मलाई
बुझेर हेर आफ्नो छायाँलाई; अल्झिन्छ कि त्यो पर्खेर मलाई
टाढिन्नौं कहिल्यै भन्दै; चाहेको मैले तिमीलाई
खसेका तारालाई गन्दै; मागेको मैले तिमीलाई
लाग्छ माया तिम्रै नै; किन किन धेरै नै

-समय
रचनाकाल: २०६९/१२/१९
©Copyright protected by Samaya समय, 2013.