पानी बाराबार – २ (कविता)

हुन सक्थ्यो केही
यदि
तिमीले मलाई हँसाएका पलहरु
बागमतीको किनारै किनार
बगेर गईदिए कतै
र यो पनि हुन सक्थ्यो
मैले तिमीलाई रुवाएका पलहरु
मेरा मानसमा जरो गाडेर
बसेका भईदिए कतै

चराहरु भुर्र उडेर कतै पर
बसाइँ सरेर जाँदा
जति मन खल्लो भएको थियो
उति नै अमिलो भएर आउँछ
पुराना दिनहरुको ताजा याद पनि

गुच्चा खेल्दा
तिमीलाई मैले ढुंगाले हानेको
नलागोस् भनेर
तर लागेर तिम्रो टाउको फुटेको
अनि तिम्रा बा ले
मलाई आठ घण्टा ट्वाइलेटमा थुनेको
सम्झना छ मलाई अझै पनि

त्यसको केही दिनपछि
फेरि हामी सगैं खेल्न थालेको
अनि तिम्री दिदीले
तिम्रा बा लाई कुरो लगाईदिएको
त्यो समयमा तिमीले अटेर गरेर
मसगैं खेलेको
त्यसको केही महिनापछि
तिम्रो चंगा मैले गर्दा ‘चेट’ हुँदा
तिमीले मलाई रित्तो लट्टाईले हालेको
नलागोस् भनेर
तर लागेर मेरो पनि टाउको फुटेको
अनि मेरा बा ले
तिमीलाई अर्को आठ घण्टा ट्वाइलेटमा थुनेको
सम्झना छ मलाई अझै पनि

तिम्रो घाउको त खत मात्र थियो
तर मेरो घाउ आलै थियो
र पनि हामी फेरि सगैं खेल्न थालेको देखेर
हामी दुईलाई छुटाउन निकैले खोजे

उनीहरुको हार भयो र हाम्रो जीत
त्यही जीतको खुशीयालीमा
हामी हाटबजारमा गएर बरफ खाएको
बरफेले हामीसँग पैसा नलिएको
सबै सबै याद छ मलाई

सानो हुँदाको कुरा र ठुलो भएपछिको कुरा को
तुलना गरेर के भेट्छस् … भन्दै होला तिम्रो मनले
तिमी स्वतन्त्र मान्छे ।
मलाई त सबैको माया लाग्छ,
अतीतको पनि,
वर्तमानको पनि,
अनि भविष्यको पनि ।

तिमी शायद
समयसगैं परिवर्तित हुँदै
अगाडि बढ्न रुचाउने मान्छे
नत्र मैले तिमीलाई
मेरो छाता बाँडेर ओढौं भन्दा किन तर्केर हिंड्न सकेको !
पानीले त बराबर भिजाउने हो,
तिम्लाई पनि, मलाई पनि ।
तिमी आफुले त ओढेनौ नै,
तर्किनु अगाडि मैले ओढेको छाता भाँच्यौ किन ?

अब प्रश्न गर्न पनि मन लाग्दैन
किनकी त्यसको जवाफै आउँदैन
मसँग बोल्ने मान्छे छैन,
ठिकै थियो ।
तर,
अब त नबोल्ने मान्छे पनि त छैन !
कसको आशामा बस्ने म अब
कोही आउँछ कि फर्केर बोल्न भनेर ?

हो,
म “मलामी” बनेर
“आर्यघाट” पुगेर आएँ,
“तिम्रो लास” सँगै ।

मलामी गएर फर्केको भोलिपल्ट
फेरि झस्केर तिम्रो कौसीमा हेरें ।
त्यहाँ तिमी होईन,
तिम्ले लगाउने गरेको “सक्कली-ढाकाको भोटो” देखें,
डोरीमा झुण्डेको ।

फेरि सम्झें त्यो पल,
संसार छोडेर जाने दिनको बिहान पनि,
तिमी मसँग नबोल्न सकेको ।

हिजो राती ठुलो पानी परेपछि,
आजको चिसो बिहानीमा
एउटी भंगेरी
आफ्ना चल्लाहरुलाई केही खुवाईरहेकी देखियो ।
बाँसले बारेको एउटा घरको धुरीमा ।
तिमी भएको भए,
हत्तपत्त क्यामेरा निकालेर,फोटो खिच्थ्यौ होला ।
मसँग भएको त,
त्यही दिन आर्यघाटमा सेलाएर आईयो ।
खुब सम्झायौ तिम्ले मलाई ।
अब ,
मेरो नजिकै बसेर चराचुरुङ्गीको फोटो कसैले पनि खिच्दैन ।

-मनोज के. सी. “समय”
रचनाकाल : २०७० साल, भदौ ११ गते, शुक्रबार (बिहान १:३० बजे) ।
©Copyright protected by Samaya समय, 2013.
[नोट : यो कविता २०६९ साल माघ ११ गते बिहीबारका दिन लेखिएको कविता “पानी बाराबार” को दोस्रो शृंखला हो ।]

Advertisements