लेखिसकेपछि (गीत)

लेखिसकेपछि देख्न मन लाग्छ
देखिसकेपछि भेट्न मन लाग्छ
सक्दिन म अब पर्खिरहन
खोज्छ माया अब बर्षिरहन

बाँदिएको मनको शीतल त्यो छायाँ
फराकिलो मुटु, मुटुभित्र माया
फेरिंदै नि जान्छन् सम्बन्धका धागा
बेरिंदै नि जान्छन् फेरि तिनै धागा

धेरै हुने गर्छ, जिन्दगीमा हलचल
लचिलो नै लाग्छ, तिम्रो बानी चञ्चल
खुल्दै जान्छौ जब, सोच हुन्छ खलबल
रसिलो नै लाग्छ, माया मात्र आजकल

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/०९/१७
©Copyright protected by Samaya समय, 2014.

हुँदैन हुँदैन (गीत)

हुँदैन हुँदैन भन्नु हुँदैन
सम्झिंदा मात्रै कतै छुँदैन
छुनको लागि हुनुपर्छ

भएको कुरा नै हुन्छ पुरा
नहुने जति सबै अपुरा
हुन नसक्ने सबै अधुरा
चलाउँछन् कतिले त्यसमै छुरा

बोक्नुपर्छ आशा, मेटिनेछन् प्यास
मेटिन्छन् जब प्यास, हुन्छ केही खास
नहुने र नबन्ने केही हुँदैन
हुन्छ र बन्छ खुशीको बास

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/०९/१७
©Copyright protected by Samaya समय, 2014.

किन बन्छ (गीत)

किन बन्छ यहाँ यस्तो परिभाषा यो मायाको ।
किन मर्छ घाम सधैं खोजी गर्दै त्यो छायाँको ।।

हुन सक्थ्यो केही यदि अतीत त्यो फर्किएमा ।
रसाउँथ्यो कि तीर पनि छाल बनी तर्किएमा ।।

नचाहेको हुँदै होइन, चाहे जस्तो हुन्न रै’छ ।
चाहनाको हिसाबमा मिल्ने खाली शून्य रै’छ ।।

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/०९/ २७
©Copyright protected by Samaya समय, 2014.

नशा (गीत)

केटा: किन यति मिठो लाग्न थाल्यो माया
किन यति चोखो लाग्न थाल्यो प्रीत
केटी: किन यति प्रिय लाग्न थाल्यो साथ
किन मनले तिम्रै माग्न थाल्यो हात

दुवै: तिम्रो मायाले हो कि, तिम्रो साथले हो कि

केटी: तिमी बिना एक पल पनि बाँच्न सक्दिन म
तिमीलाई नै देखेर नै हलचल हुन्छ मनमा
केटा: सपना नि एक्लै-एक्लै साँच्न सक्दिन म
धेरै कुरा तिम्रै मात्र खल्बन हुन्छ मनमा
केटा: वशमा छैन मेरो मन

केटा: नौलाख तारा माझ तिमीलाई नै खोजें
संसारमा अरुभन्दा तिमीलाई नै रोजें
केटी: मान्छेको यो भीडभित्र हराउँदै खोजें
तिमी नै हौ जीवनसाथी भनी मैले बुझें

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/०४/०५
©Copyright protected by Samaya समय, 2013.

आत्मीय साथी … (गीत)

खुशी मेरा बढ्ने गर्छन् तिम्रै साथमा
जिन्दगी यो सुम्पेको छु तिम्रै हातमा
तिमी मेरो आत्मीय साथी

एकान्तमा हुँदा कतै, तिम्रै सम्झना
भीडभित्र पुग्दा कतै, तिम्रै सम्झना

उकालीमा हिंड्दा-दिंड्दै थाक्छ जब यो मन
जहीं तहीं तिमीलाई नै खोज्छ यो मन

थाहा छैन कसैलाई, बुझ्ने तिमी छौ
बोलाउँदा कसैलाई, सुन्ने तिमी छौ

-मनोज के.सी.”समय”
रचनाकाल: ४ मार्च, २०१३
©Copyright protected by Samaya समय, 2013.

बाटैमा ढुकेर (गीत)

केटा : बाटैमा ढुकेर बसेको तिमीलाई
रोधी घरको आँगनीको नजिकै
अल्झिएँ त्यत्तिकै
देखिनँ खै कतै
साँझ ढल्दै रात बित्न लाग्यो नि

केटी : बाटैमा ढुकेर पाईन्न हामीलाई
रोधी घरको आँगनीको नजिकै
अल्झेछौ त्यत्तिकै
पाइएन आउनलाई
भेट हुन्न सोचे जस्तो सजिलै

केटा : मनैले आँटे पुग्छ रे भन्छन् दैवको साथैमा
दिएमा पुग्थ्यो मायाको चिनो मायाले हातैमा
केटी : मनैले आँटे पुग्छ रे भन्छन् दैवको साथैमा
पाए नि हुन्थ्यो जिन्दगी काट्न मायाको मातैमा

केटा : आकाशै माथि ताराको ताँती, चन्द्रमा फिक्का भो
भेटिने तिम्लाई कत हो कत, खोजेरै दिक्क भो
केटी : आकाशै माथि ताराको ताँती, चन्द्रमा फिक्का भो
कामले पुरा कहिले हुने, कुराले ठिक्क हो

केटा : पानी त राम्रो मुलको भन्छन्, मान्छे चैं कुलको
गएमा जोबन आउँदैन फेरि, नगर्नु भूल यो
केटी : पानी त राम्रो मुलको भन्छन्, मान्छे चैं कुलको
लौ बाचा गर, छोड्दैनौ साथ तिम्रो यो फूलको

केटा : फूलैको बास्ना मग्मगाउँछ मोहनी लाउनलाई
संसारै घुमी फर्केर आएँ तिमीलाई पाउनलाई
केटी : फूलैको बास्ना मग्मगाउँछ मोहनी लाउनलाई
म भएँ तिम्रै, भो छोड अब रोधीघर धाउनलाई

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/०९/०९
©Copyright protected by Samaya समय, 2013.

शिक्षा (गीत)

उज्यालोलाई छुन पुग्ने रहर पाल्छन् धेरै मनले ।
नपढ्दामा समयलाई खेर फाल्छन् धेरै जनले ।।

विपनालाई पन्छाएर सपनामा रुमल्लिने ।
को हुन्छ र जिन्दगीको घाम-छायाँमा अल्मलिने ।।

जाँगर र जोस बिना पाइन्न है नाम कुनै ।
पुग्नु छैन कहीं कतै मिल्छ यतै काम कुनै ।।

मरेपछि जिन्दगी यो पाईन्न है घरि-घरि ।
पढ्दै-लेख्दै संसार यो राख्नुपर्छ वरिपरि ।।

-मनोज के.सी.”समय”
रचनाकाल: २०७०/०९/१६
©Copyright protected by Samaya समय, 2013.