मोबाइल फोन (लघुकथा) -समय (२०६६/११/१९, बुधबार)

आज एक्कासी एउटा कल आयो मेरो मोबाइलमा। मैले फोन उठाएँ। अचम्म लाग्यो! कुरा गर्दागर्दै टावर उड्यो। के देख्नुपरेको, के भोग्नुपरेको! शायद, आज पनि लोडशेडिङ्गको लोड धेरै भएरै होला। करीब आधा घन्टापछि मैले फेरि कल ब्याक गरेँ त्यही नम्बरमा जुन नम्बरबाट मलाई कल आएको थियो। उता फोन रिसीभ भयो, तर अपरिचित आवाज! हैन के सुन्नुपरेको! हुन पनि हुनसम्मै अचम्म हुन थालेको छ आजकल।

अब कल होइन एस एम एस आयो। तपाईँलाई आज मैले जसरी भए पनि भेट्नै पर्ने काम छ। तपाईँको टाइम कस्तो छ? अब मैले त्यो एस एम एस को रिप्लाइ पठाउनु जरूरी ठानिनँ। म आफ्नै काममा लागेँ। कतै नभएको अचम्मको मान्छे!, एकछिनपछि अर्को एस एम एस आउँछ। होइन, आज के विधि अचम्म भएको यो! म त आफैँ सोच्न थालेँ यहाँ बेरोजगारहरूको सङ्ख्या कति होला! रोजगार भए त बेकारमा अरुलाई नचाहिँदो कल गरेर, एस एम एस पठाएर आफ्नो समय बर्बाद गर्ने चाहना कस्को हुन्छ होला र!

आफू समयमा काम नसकिएर दिक्क भएको छु। यहाँ कुनै काम समयमा हुन्न। झन् यो मोबाइल बोकेपछि त अर्को काम थपियो भन्या! फोन कल उठाउने, एस एम एस रिसीभ गर्ने, के के हो के के, भनेर साध्य छैन। फेरि CRBT पनि के के राख्न सकेका हुन्! सुनेरै बस्नुपर्ने पुरै Ring नबजिकन कल उठ्यो भने त भाग्यमानी कलर मान्नुपर्छ आफूलाई। नबोकी पनि नहुने, बोके पनि नहुने, काठ्मान्डुको खाल्डोमा मोबाइल फोन!

-समाप्त-

©Copyright protected by Samaya समय, 2010.